

भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण

काठमाडौं – अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् । नेपालीमुलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् ।
मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दुहरूको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन् । शपथ ग्रहणपछि संक्षिप्त कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे ।
भण्डारीले अगाडि थपे, ‘म मेरो जिम्मेवारी वहन गर्दागर्दै अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु । भण्डारीले आफ्नो कार्यकाल रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राख्नु भएको छ । यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा भण्डारीले गीताको सार जस्तै कर्म गर्न आफू लागिरहने बताए । उनले अगाडि थपे, ‘सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने बताउनुभएको छ ।’ साथमा नेपाली समुदायका अगुवाहरूले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी भएका हुन । उनी उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधेयक संसदबाट पारित गराउन सफल भएका थिए । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गर्नुभएका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए ।
अमेरिकामा एक आप्रवासीको रूपमा नेपालबाट सन् २००५ मा अमेरिका आउनुभएका भण्डारीले डेढ दशक भन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराएको अनुभव छ, भने मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधिसमेत गरेका छन् । नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मिएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका छन् ।
व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभई एसियाली अमेरिकनहरूको लागि पनि रोचक रहेको छ । आगामी चार वर्ष भण्डारीले मेरिल्याण्ड राज्यको विधायकको रूपमा काम गरेर आवश्यक पर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्नेछन् ।

