कोठाभित्र कोइला बालेर सुतेका २ जनाको मृत्यु


काठमाडाैं – वीरगञ्ज महानगरपालिकास्थित एक कोइला डिपोमा कार्यरत दुई जनाको निस्सासिएर ज्यान गएको छ।

महानगरपालिका-२२ जगरनाथपुर त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपो रेखदेख गर्ने २ मजदुर सोही डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र मृत फेला परेका हुन्।

मृत्यु हुनेमा भारत बिहार राज्य मोतिहारी जिल्ला रक्सौल कौवा ठेगर बस्ने २९ वर्षका पवित्र गिरी र भारत नै बस्ने सोही डिपोका म्यानेजर ३० वर्षका मिथलेश यादव रहेका छन्।

मंगलबार राति झ्याल ढोका बन्द गरी सुतेका उनीहरूले भोलिपल्ट अर्थात् आज बिहान १० बजेसम्म ढोका नखोलेपछि प्रहरी पुगेको थियो। घटनास्थलमा तगारीमा पत्थर कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेको पाइएको र त्यसै कारण उनीहरूको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नारायणी अस्पतालबाट चिकित्सक झिकाएर घटनास्थलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया