

सिस्टममा खराबी आएपछि अमेरिकामा सबै उडान ठप्प

काठमाडाैं – नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण बुधबार अमेरिकामा सबै उडानहरू ठप्प भएका छन्। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार हालसम्म २५१२ उडान ढिला भएका छन् । २५४ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन्।
यसबारे त्यहाँको नागरिक उड्डयनको वेबसाइटले पुष्टि गरेको छ। राष्ट्रपति जो बाइडेनले यसबारे प्रतिवेदन मागेका छन्। अमेरिकी इतिहासमा यस्तो भएको पहिलो घटना हो।
ह्वाइट हाउसले भन्यो – साइबर आक्रमण होइन
अमेरिकी इतिहासमा पहिलो पटक यति ठूलो प्राविधिक गडबडी भएपछि ह्वाइट हाउसको वक्तव्य पनि आएको छ । एनबीसी न्यूजले प्रेस सेक्रेटरी क्यारिन जीन पियरेलाई उद्धृत गर्दै भनेको छ- ट्रान्सपोर्टेशन सेक्रेटरीले केही समयअघि राष्ट्रपति जो बाइडेनलाई भेटेका थिए।
उनले यो समस्याबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । अहिलेसम्मको अनुसन्धानका आधारमा यो साइबर हमलाको घटना होइन भन्न सक्छौँ तर राष्ट्रपतिले यस विषयमा गहिरो र गम्भीर छानबिन गर्न निर्देशन दिनुभएको छ ।’
अमेरिकाको संघीय उड्डयन एजेन्सीले नोटिस टु एयर मिसन प्रणाली ‘फेल’ भएको जनाएको छ। तर कहिले ठिक हुन्छ भन्न नसकिने अवस्था रहेको उसले जनाएको छ।
एनबीसी न्यूजका अनुसार करिब ४ सय उडान ढिला भएका छन्। जसमा स्वदेशी र विदेशी उडानहरू समावेश छन्। अमेरिकी समय अनुसार बिहान ५ बजेर ३१ मिनेटमा यो प्राविधिक गडबडी बाहिर आएको हो । तर, अहिलेसम्म यसको कारण के हो भन्ने खुलेको छैन । उड्डयनको वेबसाइटमा ‘प्राविधिक कर्मचारी प्रणाली मर्मतमा व्यस्त छन्’ लेखिएको छ।

