


देशभरका विभिन्न सवारी दुर्घटनामा ७ को मृत्यु

काठमाडौं । देशभर पछिल्ला दिनमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौ महानगरपालिका–२६ नयाँ बसपार्क बिजी मल अगाडि सडकमा बा–८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क डेरा गरी बस्ने पैदलयात्री ५६ वर्षीया सुनमाया गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिका-७ अम्मरसिंह चोकस्थित सडकमा बा–९३ प ३३१० नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुर राधे–राधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सप्तरी कन्चनरुप नगरपालिका–८ गुवास टोलस्थित सडकमा स–१ ह ८३८ नम्बरको अटोले शनिबार साँझ ठक्कर दिँदा पैदलयात्री हनुमाननगर कंकालिनी नगरपालिका–१२ बस्ने ३४ वर्षीय ईसराफिल अलीको घट्नास्थलमै मृत्यु भएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बाँके बैजनाथ गाउँपालिका–१ पन्ध्रखोला मोडस्थित सडकमा भे.१ च २९९० नम्बरको बोलेरो र भे.५ प ६७७७ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख नारायण नगरपालिका–११ बस्ने २९ वर्षीय नविन बिष्टको मृत्यु भएको छ । उनको मेडिकल कलेज कोहोलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार घाइते १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत लेकबेसी नगरपालिका–८ गन्यपानीस्थित सडकमा भे.१ ख १७२० नम्बरको बसले शनिबार साँझ किच्दा सोही ठाउँ बस्ने ५२ वर्षीय मान बहादुर फौजाको मृत्यु भएको छ । उक्त बसमा सवार उनी बसबाट झरी घरतर्फ जाने क्रममा सोही बसको पछाडिको टायरले किचेर फौजाको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली घोडाघोडी नगरपालिका–१० वन डिभिजन कार्यालय अगाडि सडकमा म.१ त ५४२ नम्बरको ट्याक्टर र बा.९१ प ४०४ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही नगरपालिका-१० पहलमानपुर बस्ने २३ वर्षीय गोबिन्द बुढा र १८ वर्षीय मान बहादुर बुढा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

