

मधेश प्रदेश सभाको पहिलो बैठक : सभामुख र उपसभामुख अनुपस्थित

जनकपुर – मधेश प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ । बैठकले प्रदेश सभा अन्तरिम कार्यविधि अन्तर्गत प्रदेश सभा कार्य सञ्चालन नियमावली २०५७ लाई सर्वसम्मत अनुमोदन गरिएको छ ।
यस्तै, सोही नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ६ जना प्रदेश सभा सदस्यलाई सर्वसम्मत मनोनयन गरेको छ । मनोनीत सदस्यमा रेखा ठाकुर, बच्चाराउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनल, फकिरा महतो र रत्नेश्वर गोइत रहेका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए ।
यसअघि न्यौपानेले अघिल्लो सभामा टेबुलभएको ६१ वटा विधेयकमा ५५ वटा पारित भएको र छ वटा विचाराधीन अवस्था रहेको जानकारी दिए। सो अवधिमा पारित हुन नसकेको ६ वटा विधेयक निष्क्रिय भएको सभालाई उनले जानकारी गराए ।
अघिल्लो सरकारले व्यवस्थित रूपमा कार्य सञ्चालन गर्न ९० प्रतिशत कानुन बनाउन सफल भएको भए पनि प्रभावकारी कार्यान्वयन गर्न नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको सभामुख न्यौपानेले बताए ।
बैठकमा प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकालका सहयात्री, सहयोगी, निवर्तमान सभा सदस्य, सभामुख, सभाका सचिवालयलाई धन्यवाद दिए ।
प्रदेशको सर्वोपरि हित हुनेगरी प्रदेश सभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, जितेन्द्रप्रसाद सोनल, सरोजकुमार यादव, कञ्चन बिच्छा, उर्मिलादेवी सिंह, अनिरुद्धप्रसाद सिंह, केशव रायलगायतले सफल कार्यकालको शुभकामना मन्तव्य राखे । प्रदेश सभाको अर्को बैठक अगामी माघ २ गते सोमबार दिनको १ बजेसम्मको लागि स्थगित गरिएको छ ।

