

४६ हजार बढीले लगाए कोरोना विरुद्धको खोप, केहीमा ‘साइड इफेक्ट’ देखिन थाल्यो

काठमाडौं – कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा ४६ हजार बढीले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरूबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा सात हजार ३६९, प्रदेश २ मा चार हजार ६५०, बागमतीमा १५ हजार ६४१, गण्डकीमा सात हजार १५३, लुम्बिनीमा चार हजार ६३५, कर्णालीमा दुई हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ७८३ जनाले खोप लगाएका छन्।
खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरू परिचालन गरिएको मन्त्रालयले जनाएको छ। हरेक अस्पतालमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो ।
मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ। यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन। ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।
वृद्धाश्रम र कारागारमा रहेका लक्षित व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले खोप समन्वय तथा अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले आग्रह गरेको छ।

