

भागमा परेको ६ मन्त्रीको टुंगो लगाउन एमाले बैठक बालकोटमा, उपप्रधानमन्त्रीसहित अर्थ लिएर पौडेलले दलको नेतृत्व गर्ने

भक्तपुर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएर छलफल गरेको जनाइएको छ ।
महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुसहितको छलफल भएको हो ।
यसअघि हिजोराति अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसँग करिव ५ घण्टा छलफल गरेका थिए । त्यसक्रममा एमालेबाट सरकारमा जाने करिव ६ जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्ने भन्दै नेताहरु बालकोटबाट राति १ बजे हिँडेका थिए । स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जानेछ । पौडेललाई अर्थमन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने बुझिएको छ ।

