सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन्।

सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज उद्घाटन गर्दै उनले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गरेका हुन्।

‘सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवर्द्धन गर्ने महत्वपूर्ण निकाय हो’, प्रधानमन्त्री देउवाले भने, ‘कुनै पनि पक्ष वा विपक्षको दवाव र प्रभावमा परेर काम गर्नुहुँदैन।’

उनले सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीले सरकारी वकिलको अनुसन्धान, अभियोजन वस्तुनिष्ट र वैज्ञानिक हुनुपर्ने बताए।

‘अनुसन्धान र अभियोजनकर्ताबीच तालमेल हुन जरुरी छ’, उनले भने, ‘फौजदारीका नयाँ नयाँ अपराध देखिएका छन्, त्यसका लागि सोचेर काम गर्नुपर्छ तर परम्परागत मान्यताले मात्रै अनुसन्धान प्रक्रिया पुग्दैन।’

कामुप्रधानन्यायाधीश कार्कीले संहिता कार्यान्वयनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया