कफी विकास बोर्डका अध्यक्ष गौतम र शाखा प्रमुख चौधरीलाई जरिवाना सहित कैद फैसला


काठमाडौँ – राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम र तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई विशेष अदालतले कैद सजाय हुने फैसला सुनाएको छ।

उनीहरू दुवैलाई जरिवानासमेत तिराउने फैसला भएको विशेष अदालतले जनाएको छ। गौतम र चौधरीले योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारमहरू ठिक छ भनी प्रतिवेदन दिएको आरोप थियो।

बोर्डले २ असोज २०७२ मा गोरखापत्रमा सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको थियो। त्यसैअनुसार परेका आवेदनमा आवेदकहरूको शैक्षिक योग्यता नहेरेको, बदनियत राखी न्यून एवं अमिल्दो आवेदकहरूको फारामसमेत स्वीकृत गरेको आरोप अख्तियारले लगाएको थियो।

बोर्डका निर्देशक गौतम पदपूर्ति उपसमितिका संयोजकसमेत थिए भने चौधरीले दरखास्त स्वीकृत गरेका थिए। जानीजानी गलत दरखास्त फारमलाई सही भनी गलत प्रतिवेदन दिएको भन्दै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०१९ को दफा १९९२० बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर भएको थियो।

यस मुद्दामा प्रतिवादी बनाइएका दुईजनाले भने सफाइ पाएका छन्। यस मुद्दामा कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओली पनि प्रतिवादी बनाइएका थिए। उनीहरूलाई पनि ऐनको दफा १९९२० बमोजिमकै सजाय मागदाबी गरिएको थियो।

प्रतिक्रिया