

प्रदेश १: मुख्यमन्त्रीबाहेक अन्यतर्फ जादिँन : नेता आङ्ग्बो

काठमाडौँ – नेकपा माओवादीका नेता इन्द्रबहादुर आङ्ग्बोले सहमतिमा सरकार गठन हुँदा प्रदेश १ को मुख्यमन्त्रीको दावेदारीमा आफू रहने बताएका छन्।
आर्थिक मामिला तथा योजनामन्त्री तथा केन्द्रका नेता आङ्ग्बोले प्रदेशमा गठबन्धनको सरकार बन्ने र प्रदेश १ भागबण्डामा माओवादीमा परे मुख्यमन्त्रीको दाबेदारी रहने बताए । उनले निर्वाचनअघि भएका गठबन्धनसँगै केही दललाई भित्र्याएर सरकार गठन गर्ने प्रस्ट्याएका छन् ।
एक कार्यकाल प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका आङ्बोले मुख्यमन्त्रीबाहेक अन्यतर्फ आफू नजाने बताए।
उनले यसपटक मन्त्रीको जिम्मेवारीमा पार्टीका अन्य साथीलाई अवसर दिने बताए। एक कार्यकाल मन्त्रीको जिम्मेवारी भएर काम गरिसकेको हुँदा फेरि सोही पदमा रहेर काम गर्ने इच्छा नभएको उनको भनाइ छ। यससँगै प्रदेश १ को सरकार सत्ता गठबन्धनकै रहने उनले बताए। यद्यपि, यसमा केन्द्रीय भागबन्डाले भने अर्थ राख्ने उनले बताए।
नेकपा माओवादी केन्द्रले प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकमा ४ गरी कुल १३ सिट हासिल गरेको छ।

