

चितवन केन्द्रीत माओवादीः १४ समानुपातिकमा ३ जना चितवनकै !

चितवन – सम्पन्न निर्वाचनबाट आगामी ५ वर्षका लागि प्रतिनिधि एवं प्रदेशसभाका लागि निर्वाचित वा छानिने सांसदहरुको टुंगो लाग्ने क्रम अन्तिम चरणमा छ ।
यसै शिलशिलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्लामा पार्टीले प्रतिनिधिसभामा कुनै पनि जित हात पार्न सकेन भने प्रदेशसभामा एउटामात्र सिट हात पार्न सक्यो ।
प्रचण्ड स्वयं ‘विविध कारण’ले गर्दा गृहजिल्ला छाडेर बाबुराम भट्टराईको क्षेत्रम शरण लिन गए पनि प्रचण्डले चितवनका माओवादी नेता तथा कार्यकर्तामाथि गुन लगाएका छन् ।
नेकपा माओवादी केन्द्रले समानुपातिकमा १४ सिट हात पारेकोमा ३ जना चितवन जिल्लाले मात्रै पाएको छ । यस अर्थमा प्रचण्डको गृहजिल्लाबाट प्रतिनिधिसभामा ३ निर्वाचन क्षेत्र रहेको माओवादीले ३ जना सांसद पाएको छ । आफू सो जिल्लामा नरहे पनि जिल्लाबाट निर्वाचन क्षेत्र जति नै सांसद बनाउन प्रचण्ड सफल भएका छन् ।
माओवादी केन्द्रले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकको १४ जनाको नाममा चितवन माओवादी नेताहरु कल्पना मिया, रणेन्द्र बराली र ज्ञानु बस्नेत सुवेदी परेका छन् । यससँगै माओवादी केन्द्रले चितवनबाट प्रदेशसभामा एक जनालाई समानुपातिकमा पारेको छ । प्रदेशसभामा परेकामा ईश्वर सापकोटा रहेका छन् ।
गठबन्धनबाट चिवतनमा माओवादी केन्द्रले अध्यक्ष दाहालको गृहक्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले प्रतिनिधिसभामा जित हात पारेका थिए ।

