

समानुपातिक सांसद छान्न दलहरू भित्रै रस्साकस्सी

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न दलहरूलाई सकस भएको छ। नाम पठाउने समयावधि सकिन एक दिनमात्रै बाँकी रहँदा अधिकांश दलहरूले नामावली तयार पार्न सकेका छैनन्।
निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन दलहरूलाई पत्राचार गरेको छ। तर, कुनै पनि राजनीतिक दलले समानुपातिक सांसदको नाम आयोगसमक्ष पेस गरेका छैनन्। शनिबार अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने छ।
प्रत्येक राजनीतिक दलमा आकांक्षीहरू धेरै भएका कारण समानुपातिक सांसद छान्न सकस भएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार बैठक बोलाएका छन्। एमालेले आज बोलाएको बैठक तयारी नपुगेको भन्दै शनिबारलाई सारेको छ।
प्रतिनिधिसभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगसमक्ष पेस गर्नुपर्ने हुन्छ। प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सिट पाएको छ। त्यस्तै कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट पाएका छन्।
बन्दसूचीअनुसार नाम मिले वा नमिलेको आयोगले जाँच गर्छ र नमिले सोमबारसम्म दलहरूले सच्याउन समय पाउने छ।
संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, थारु ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र खस आर्य ३१.२ प्रतिशत निर्वाचित भएको हुनुपर्छ। यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ।

