चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न आज पनि बारको धर्ना, बिहान पौने १० बाटै गेटमा धर्ना दिने तयारी


काठमाडौं — महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्भावित सर्वोच्च प्रवेशलाई आज पनि अवरोध गरिने भएको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बुधबार जस्दै आज पनि धर्ना दिइने जनाएका हुन् ।

नेपाल बार एशोसिएसनले शुक्रबार पनि सर्वोच्चमा जबराको प्रवेशलाई छेक्न धर्ना दिने जनाएको छ । बारले धर्ना दिने भएपछि आज पनि सर्वोच्चको कामकारबाहीमा अवरोध हुने भएको छ । यसअघि बुधबार दिउँसो २ बजेदेखि सर्वोच्च परिसरमा विभिन्न धर्ना र आन्दोलनका कार्यक्रम भएका थिए । बिहीबार सार्वजनिक बिदा परेका कारण आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएका थिए ।

तर, आज भने बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् । जबरा सर्वोच्च जान प्रयास गरे भने पनि बारको धर्नालाई छलेर जान सक्ने अवस्था कठिन देखिन्छ ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका ९ पदाधिकारीले संसद्का महासचिव गौतमको पत्रलाई सर्वोच्चको संवैधानिक इजलासमा दिएको चुनौतीमाथि शुक्रबारै सुनुवाइ हुँदै छ । बुधबार दर्ता भएको उक्त निवेदनलाई सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको छ ।

जबराविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई पत्र थमाएर नियमित कामकारबाहीका लागि अदालत फर्कने बाटो खोलिदिने प्रयास गरे । त्यसपछि उत्पन्न परिस्थितिले बुधबार दिनभर सर्वोच्च अदालत प्रभावित भएको थियो ।

 

प्रतिक्रिया