

सन्दर्भ अन्तर्राष्ट्रिय अपांगता दिवसः ‘संविधानमा भएका व्यवस्था व्यवहारतः लागू गरियोस्’

काठमाडौं – राष्ट्रिय अपांग महासंघ नेपालले अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेको छ । ‘अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर, २०२२’ को पूर्वसन्ध्यामा राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न कार्यक्रमसहित साताव्यापी रुपमा मनाउने जानकारी गराएको छ ।
‘समावेशी विकासका लागि रुपान्तरिक समाधानः पहुँचयुक्त र समावेशी विश्वका लागि उर्जावान सिर्जनशीलताको प्रावधान’को मुख्य नारासहित मनाउन लागिएको ‘अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस’लाई दिवसका रुपमा मात्र नभई अपांगता भएका व्यक्तिहरुको उन्नती र अवसरलाई ध्यानमा राख्दै नीति तथा नियम बनाउन माग गरिएको थियो ।
महासंघका नवनिर्वाचित अध्यक्ष देवीदत्त आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा अपांगतासम्बन्धी कानुनी व्यवस्था र सेवा सुविधा, अपांगता भएका व्यक्तिहरुको अवस्था र अपांगता भएका व्यक्तिहरुको अवस्थालाई तथ्यांकमा प्रकाश पारिएको थियो । साथै उक्त अवसरमा संविधानमा अपागता भएका व्यक्तिकालागि विभिन्न अधिकार सेवा, सुविधाको व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण रहेको जनाइएको थियो ।
उक्त अवसरमा नेपालको प्रेस जगतले पनि अपांगता भएका व्यक्तिहरुको हक हितका लागि आवाज उठाउनुका साथै अहिलेसम्म भएका कानुनी व्यवस्थालाई आधार बनाएर थप सुधारका लागि जोड दिनुपर्ने समेत जनाइएको थियो ।
कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकार सम्मेलनमा उठेका जिज्ञासा एवं प्रश्नहरुको उत्तर दिएका थिए ।
अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार बिहान ७ः३० बजे भृकुटीमण्डप–भद्रकाली–शहिदगेट–न्यूरोडगेट–रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै समापन हुने गरी र्यालीको समेत आयोजना गरिएको अध्यक्ष आचार्यले जनाए ।
उक्त अवसरमा निवर्तमान अध्यक्ष डा. वीरेन्द्रराज पाेखरेलले यस वर्षको अपांगता दिवसको मूल नाराको बारेमा प्रकाश पारेका थिए । उक्त नारा संयुक्त राष्ट्र संघले नै पारित गरेको बताउँदै नेपालमा पनि सोही नारालाई मूल मन्त्र बनाई अपांगता दिवस मनाउन लागिएको बताए ।
कार्यक्रममा नवनिर्वाचित नयाँ कार्य समितिले पदभार समेत गरेको थियो ।

