जथाभावी अभिव्यक्ति नदिन झलनाथ खनाललाई एमालेको चेतावनी


काठमाडाैं – नेकपा एमालेले आफ्नो पार्टीमाथि नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले लगाएको आरोपलाई ‘पराजित मानसिकताको पराकाष्ठा’ भएको टिप्पणी गरेको छ ।

इलाम क्षेत्र नं १ को मतदानको सुरु प्रकृयादेखि नै गठबन्धनका उम्मेदवार रहेका खनालले एमालेमाथि लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदय बहादुर राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया संगत, विधिसम्बत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैमा अलोकतान्त्रिक प्रवृत्ति हो’, विज्ञप्तिमा भनिएको छ, ‘अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्ड माथिकै हमला हो ।’

निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै खनालले एमालेका उम्मेदवार एवम् पार्टीका अन्य जिम्मेवार नेता कार्यकर्ताको मोबाइल ट्राकिङ गरेको पनि विज्ञप्तिमा आरोप लगाइएको छ ।

पराजयपछि हतास मानसिकता बोकेर जथाभाबी अभिव्यक्ति नदिन र लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पनि एमालेले खनाललाई चेतावनी दिएको छ । इलाम १ मा खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए ।

प्रतिक्रिया