रुसको रोक्का सम्पत्ति जफत गर्ने ईयूको प्रस्ताव


काठमाडाैं – युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रुसी सम्पत्ति जफत गर्ने योजना बुधवार प्रस्ताव गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन् ।

उनले भनिन्, ‘हामीले रुसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरेका छौं । साथै रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं ।’ अन्तर्राष्ट्रिय बजारमा बुधवार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ ।

उनले भनिन्, ‘छोटो अवधिमा, युरोपेली संघ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन् ।’

उनले थपिन्, ‘हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौं र सँगसँगै यसलाई प्राप्त गर्न कानूनी तरिकाहरूको खोजी गर्न सक्छौं ।’

उनले भनिन्, ‘ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ, जसले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्नेछ ।’

प्रतिक्रिया