पूर्वी नवलपरासी-२ मा कांग्रेसका कार्की विजयी


काठमाडौं – पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा फराकिलो मतान्तरले कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । अघिल्लो पटक आफूलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्री (तिलक)लाई यस पटक कार्कीले २ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् ।

कार्कीले ३६ हजार १ सय ४ मत पाएका छन् भने महतले ३४ हजार ८३ मत पाएका छन् । दुवैको मतान्तर २ हजार २१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । नवनिर्वाचित कार्की रुपन्देहीबाट पूर्वी नवलपरासी बसाइ सरेर आएका हुन् । उनले राजनितिसँगै व्यापार ब्यवसाय गर्दै आएका छन् । उनी क्रसर र इट्टा उद्योग संचालक हुन् ।

२०४८ सालपछि हाल सम्पन्न ७ वटा निर्वाचनमा यहाँ ५ पटक एमाले विजयी भएको छ । ०६४ साल र यस पटक कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । ०७४ सालको प्रतिनिधिसभामा १३ सय मतान्तरले एमालेका तिलक महतसँग पराजित कार्कीले ५ वर्षपछि उनै महतलाई २ हजार भन्दा बढी मतले हराए संसदको यात्रा थालेका छन् ।

विनोद चौधरीले यो क्षेत्रमा उम्मेदवार हुन खोज्दा देउवासँगको घनिष्टताका कारण कार्कीले टिकट पाउन सफल भएका हुन् । प्रतिनिधि सभाका दुई वटै क्षेत्रमा यहाँ कांग्रेस विजयी भएको छ । क्षेत्र नम्बर १ मा कांग्रेसकै शशांक कोइराला विजयी भइसकेका छन् ।

प्रतिक्रिया