
उपत्यकामा एमालेका २ ले जोगाए ‘बीऊ’, माओवादी पत्तासाफ !
काठमाडौं – मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसै क्रममा पछिल्लो पटक भक्तपुर क्षेत्र नं. १ को मतपरिणाम आएसँगै उपत्यकाका सबै क्षेत्रको मतपरिणाम आइसकेको छ ।
उपत्यकामा जम्मा १५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ५ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।
कुनै बेला एमालेका लागि सबैभन्दा राम्रो मानिएको उपत्यका अहिले अफापसिद्ध भएको छ । उपत्यकाका १५ सिटमध्ये २ निर्वाचन क्षेत्रमा मात्र एमालेले जित हात पारेको छ । काठमाडौंमा कृष्णगोपाल श्रेष्ठ र ललितपुरमा प्रेमलाल महर्जनले एमालेको बिउ जोगाएका छन् । त्यस्तै सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एकीकृत समावादी पत्तासाफ भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास रहेकै क्षेत्रमा नेपाली कांग्रेसले जित हात पार्दा एमालेका बरिष्ठ उपाध्यक्षले पराजय भोगेका छन् ।
नेकपा एमालेका युवा नेता एवं केपी ओलीका प्रियपात्र महेश बस्नेतले भक्तपुर–२ बाट हात धुनु परेको छ भने अर्का केपी विश्वासपात्र एवं पूर्व डीआईजी नवराज सिलवाल पनि ललितपुर–१ बाट पराजित भएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उत्कृष्ट नतिजा हात पार्दै गर्दा निर्वाचनको केहीसमयअघि मात्र केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लज्जास्पद हार ब्यहोरे । काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका प्रकाशमान सिंहले जित हात पार्दा एमालेका किरण पौडेल चौथो बन्न पुगे ।
भक्तपुर क्षेत्र नं. १ मा प्रेम सुवालले जित हात पार्दा प्रमुख प्रतिद्वन्द्वी रहेको एमाले अधिकांश स्थानमा ठूलो मतान्तरले पराजित बन्न पुग्यो ।
उपत्यकामा कांग्रेसले काठमाडौं क्षेत्र नं. १, ३, ४, ५ र १० का साथै ललितपुरको क्षेत्र नं. १ र भक्तपुरको क्षेत्र नं. २ मा जित हात पार्यो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नं. २, ६, ७, ८ र ललितपुर क्षेत्र नं. ३ मा जित पारेको छ भने नेकपा एमालेले काठमाडौं क्षेत्र नं. ९ र ललितपुरको क्षेत्र नं. २ मा जित हात पारेको छ ।
उपत्यकामा नेपाली कांग्रेसले ८ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो । ती मध्ये ७ जनाले जित हात पार्दा काठमाडौं ६ का उम्मेदवार भीमसेनदास प्रधानले मात्र पराजय भोगे ।
त्यस्तै सत्ता गठबन्धन माओवादीले उपत्यकामा ५ जना उम्मेदवार उठाएको थियो, ती मध्ये कसैले पनि जित हात पार्न सकेनन् । भने अर्को सत्तागठबन्धन दल एकीकृत समाजवादीले २ स्थानमा उम्मेदवार उठाएकोमा दुवै उम्मेदवारले लज्जास्पद हार ब्यहोरे ।
माओवादीले काठमाडौं क्षेत्र नं. २मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, ९ मा कल्पना धमला, ललितपुर ३ मा पम्फा भुषाल र भक्तपुर १ मा सुनील गोठेलाई उम्मेदवर बनाएको थियो । भने एकीकृत समाजवादीले काठमाडौं ८ मा जीवनराम श्रेष्ठ र ललितपुर २ मा कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको थियो ।



कागजपत्र |
