

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सञ्चारमन्त्री कार्कीविरुद्ध उजुरी

काठमाडाैं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री कार्कीविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहीता उल्लंघनको उजुरी दर्ता गराएका हुन् ।
सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनु परेको बताए ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहीता उल्लंघन गरेको उजुरी आफुले प्राप्त गरेको बताए । उनले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

