

आत्महत्या प्रयासको हल्लापछि आयोजकले भन्यो- ‘प्रकाश दुतराज हामीसँगै सुरक्षित छन्’

काठमाडाैं – पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको हल्ला फैलिएपछि कार्यक्रम आयोजक संस्थाले त्यसको खण्डन गरेको छ ।
सांगीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेन पुगेका दुतराजले आफू बसेको फ्ल्याटमा आत्महत्या प्रयास गरेको हल्ला सोमबार सामाजिक सञ्जालमा फैलिएको थियो ।
दुतराजलाई सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया बोलाएको संस्था म्याग्दी सेवा समाजले बाहिर आएका त्यस्तो हल्ला निराधार रहेको बताएको हो । यस विषयमा गायक दुतराजले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
म्याग्दी सेवा समाजका अध्यक्ष रमेश रोकाले फेसबुकमा स्टाटस् लेख्दै प्रकाश दुतराज आफूहरुसँग सुरक्षित रहेको बताएका छन् । आफूसँगै रहेर दुतराजले आगामी सांगीतक प्रस्तुतिको तयारी गरिरहेको रोकाले उल्लेख गरेका छन् ।
गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको लागि अस्टेलिया पुगेका थिए । अस्ट्रेलियामा उनीहरूले विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन् ।
दुतराजको ‘बैनी झ्यालैमा’, ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायतका गीत चर्चित छन् । केही दिनअघि सार्वजनिक ‘देउरालीमा’ गीत पनि यतिबेला चर्चामा छ ।

