

सन्दीपको मुद्दामा निरन्तर सुनुवाइ, पीडितको जन्मदर्ताको अभिलेख झिकाउन आदेश

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ । शुक्रवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले मंसिर ७ गते बकपत्रका लागि पीडितलाई झिकाउन आदेश दिएको छ ।
यस्तै जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ ।
लामिछानेका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्म मितिमा विवाद भएको दाबी गरेका थिए । अदालतले शुक्रवार आज क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

