
प्रत्यक्षबाट चुनाव लड्दै ७० कटेका ७० उम्मेदवार
८० वर्ष माथिका ७ उम्मेदवार सबै पुरुष
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक सय ६५ सिटमा ६ दर्जन अर्थात ७० वर्ष उमेर पार गरेका उम्मेदवारको सख्या ७० नै रहेको छ ।
निर्वाचन आयोगले उल्लेख गरेको विवरण अनुसार यो निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि गोरखा २ बाट नेपाली कांग्रेस (बीपी)को तर्फबाट उम्मेदवार बनेका टिकादत्त पोखरेल सबैभन्दा ज्येष्ठ उम्मेदवार कायम भएका छन् । ९९ वर्ष पुगेका पोखरेल सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिष्पर्धा गर्दैछन् ।
स्वतन्त्र उम्मेदवारमध्ये काठमाडौं क्षेत्र नम्वर ६ बाट उम्मेदवारी दिएका विष्णुप्रसाद ढकाल सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । उनी ८५ वर्षका छन् । लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुबै जना ८० वर्षका छन् । ठाकुर महोत्तरी ३ बाट र केसी बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।
आठ दशक उमेर पार गरेका अन्य उम्मेदवारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट तेह्रथुमबाट उम्मेदवारी दिएका युवराज गौतम पर्छन । उनी ८७ वर्षका छन् । बारा क्षेत्र नंम्वर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका कृष्णराज गिरी ८१ वर्ष र पर्षा क्षेत्र नम्वर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हृदयनारायण प्रसाद बरै ८० वर्ष उमेर पार गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ ७० वर्ष उमेर पार गरेका सबैभन्दा धेरै उम्मेदवार राप्रपाले उठाएको छ । राप्रपाले तेह्रथुम, धनकुटा, मोरङ ५,काठमाडौं ६, स्याङ्जा २, लमजुङ, नवलपरासी पश्चिमको २, रुपन्देही ३ र नवलपरासी पूर्व १ नम्वर क्षेत्र गरी ९ जनालाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएकाहरुमा ७ जना ७० वर्ष उमेर पार गरेका नेताहरु छन् । नेता रामचन्द्र पौडेल सबैभन्दा बृद्ध उम्मेदवार हुन् । उनी ७८ वर्षका छन भने प्रधानमन्त्री शेरबहादुर देउवा ७७, अर्जुननरसिंह केसी ७५ र पद्मनारायण चौधरी ७४ वर्षका छन् । परराष्ट्रमन्त्री डा.नारायण खड्का ७३ र नेता डा.शेखर कोइराला र कृष्णप्रसाद सिटौला समान ७२–७२ वर्षका छन् ।
नेकपा एमालेमा भने तीन जना मात्र ७० कटेका उम्मेदवार छन् । जसमा केपी शर्मा ओली, पर्षा ४ बाट उम्मेदवार भएका जलिम मियाँ अन्सारी र कपिलबस्तु ३ बाट उम्मेदवार भएका मंगलप्रसाद गुप्ता छन् । ओली ७० वर्षका छन् भने अन्सारी ७५ र गुप्ता ७७ वर्षका हुन् ।
माओबादी केन्द्रमा भने प्रत्यक्षतर्फ उम्मेदवार भएका मध्ये अध्यक्ष दाहाल आगामी वर्षदेखि मात्र ७० पुग्दैछन् । माओबादीको तर्फबाट उम्मेदवार भएका महिन्द्र राय यादवको उमेर ८५ वर्ष रहेको निर्वाचन आयोगले जनाएको छ । तर उनले आफ्नो उमेर ६८ वर्ष मात्र पुगेको जनाएका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ७० वर्षका हुन भने सम्मानित नेता झलनाथ खनाल ७२ वर्षका हुन् ।
लोसपा अध्यक्ष ठाकुर ८०, लक्ष्मणलाल कर्ण ७५ र सर्वेन्द्र नाथ शुक्ला ७२ वर्षका छन् । कर्ण पर्षा १ बाट र शुक्ला रुपन्देही ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टीबाट भने झापा १ र ३, सप्तरी १ र धनुषा २ बाट उम्मेदवार बनेका राधा थापा, बीरबहादुर राई, नवलशिोर साह र आनन्द यादव बै ७० वर्षभन्दा बढी उमेरका छन् ।
राप्रपा नेपालबाट संखुवासभा, सिरहा १, रौतहट २ र काभ्रे १ मा उम्मेदवार भएकाहरु सबै ७० वर्ष उमेर काटेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीले २ जना, मंगोल नेसनल अर्गनाईजेसनले २ जनाउम्मेदवार ७० कटेकालाई उठाएको छ ।
नेकपा माले, संयुक्त लोकतान्त्तिक राष्ट्रिय मञ्चले २–२ जना उम्मेदवार ७० वर्ष पुरा गरेकालाई उठाएको छ । राष्ट्रिय जनमोर्चा, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माक्र्सबादी (माले) र जनसमाजबादी पार्टीले १–१ जनालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस बीपीको तर्फबाट भने तीन जना उम्मेदवार बनेका छन् ।
स्वतन्त्र१९ जना उम्मेदवारहरु भने ७० वर्ष उमेर पार गरेका छन् । त्यसमा धेरैजसो बागमती, मधेश र लुम्बिनी प्रदेशका रहेका छन् ।



लिलाराज खनाल |
