

केपी ओलीले गृहमन्त्री खाणको राजीनामा किन मागे?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खाणको राजीनामा मागेका हुन्।
सरकारकै मन्त्री लोकतन्त्रविरोधी गतिविधिमा लागेको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने उनले बताए। अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए। उनले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताए।
अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए। उनले नागरिकतासम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिए। अध्यक्ष ओलीले एनआरएनए जस्तो संस्थामा गएर राष्ट्रपतिमाथि प्रहार गर्नु असभ्यताको पराकाष्ठा भएको जिकिर गरे।
‘एउटा कुरामा मेरो ध्यान गम्भीरताका साथ गएको छ। हिजो गृहमन्त्रीजीले यस मञ्चको प्रयोग होइन दुरुपयोग गरेर राष्ट्रपतिबारे जो अनर्गल भन्नुभयो, त्यो गम्भीर विषय हो। सरकारको मन्त्रीले राष्ट्रपतिका सन्दर्भमा, कहीँ पनि राष्ट्रपतिसँग सहमत छैन, यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन। राष्ट्रपति हतपत बोलिरहँदैन। राष्ट्रपतिले प्रतिवाद गर्दैन। प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन’, उनले भने, ‘संस्थाले आफैँ प्रतिवाद गर्दैन। प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा म सत्ताधारी गठबन्धन, परमादेशीलाई आग्रह गर्न चाहन्छु हामीसँग डिबेटमा आउनुस् न। हामी छौँ नि डिबेट गर्ने, हामीसँग डिबेट गर्न आए हुन्छ। त्यो फोरमहरु क्रिएट गरौँ केही छैन। तर बोल्दै नबोल्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी त्यही पनि एनआरएनएजस्तो संस्थाको कार्यक्रममा। त्यो लज्जाजनक कुरा हो, असभ्यताको कुरा हो।’
उनले यसलाई लिएर प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा माग्नुपर्ने पनि बताए। ‘प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा गर्नुपर्दथ्यो। त्यस्तो कल्चर हुँदैन। जहाँसम्म नागरिकताको प्रश्न छ, यसमा धेरै राजनीति नगर्न म सुझाव दिन
चाहन्छु’, उनले भने, ‘हरेक फोरम, हरेक मञ्चमा धेरै राजनीतिक गरिरहनुभएको छ। त्यस्तो राजनीति गरिरहनु पर्दैन। फेरि तपाईहरुसँग आएर किन राजनीति गर्ने ? त्यो आवश्यक छैन।’

