

चितवन-३ मा दिनेश कोइरालालाई ओलीको आशिर्वाद !

चितवन – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह क्षेत्र चितवनको क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।
जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताए । न्यौपाने भने अहिले सम्पर्कमा छैनन् ।
‘कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए ।
नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका छन् ।
चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । उक्त क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले पनि उम्मेदवारी दिएका छन् ।

