

देउवाविरुद्ध ८४ वर्षे रावलले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
देशभर राजनीतिमा युवा आउनुपर्ने आवाज उठाइरहँदा डडेलधुरामा भने ७७ वर्षे देउवाविरुद्ध उनीभन्दा ७ वर्ष जेठा ८४ वर्षीय रावलको स्वतन्त्र उम्मेदवारी परेको छ ।
त्यस्तै देउवाले डडेलधुराबाट ०४८ पछिका सबै चुनाव जितेका छन् । उनी अहिले सातौंपटक चुनावी मैदानमा छन् ।
को हुन् रावल ?
रावल पूर्वकर्मचारी हुन् । रावल मालपोतमा कार्यरत रहँदा ०४९ सालमा सरुवाको सन्दर्भमा देउवासँग भेटेका थिए । तर देउवाबाट त्यसबेला सहयोग नपाएको उनको गुनासो छ। ०४८ मा चुनाव जितेका देउवा गृहमन्त्री भए, ०५१ मा चुनाव जिते, र प्रधानमन्त्री नै बने । तर देउवाले गृहजिल्लाको विकासका लागि जति पहल गर्नुपर्ने थियो, त्यति नगरेको रावलको भनाइ छ । यही विषयमा रावल रुष्ट छन् ।

