
क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिँदै
काठमाडौं – नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो। सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक(पटक बलात्कार गरेको आरोप लागेको थियो।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।



कागजपत्र |
