रंगशालाको भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुग्यो


काठमाडाैं – इन्डोनेशियाको एक रंगशालामा फुटबल खेलको क्रममा भएको भागदौडामा मृत्यु हुनेको संख्या कम्तीमा १७४ पुगेको छ । अरु ११ जना गम्भीर घाइते छन् । विश्व इतिहासमा रंगशालामा भएका विपदका घटनामध्ये विकराल मानिएको इन्डोनेसियाको घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

घटनामा करिक १८० जना घाइते भएका छन् । इन्डोनियाको शीर्ष लिग अन्तर्गत शनिबार अबेर भएको खेलमा घरेलु टिम अरिमा एफसी चीरप्रतिद्वन्द्वी टिम पर्सेबाया सुरबायासँग पराजित भएपछि आक्रोसित समर्थक मैदानमा प्रवेश गरेका थिए ।

मैदानमा पसेका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि रंगशालामा भागदौड मच्चिएको हो । क्षमता भन्दा बढी दर्शक प्रवेश गरेको रंगशालामा भागदौड मच्चिँदा ठूलो संख्यामा मानवीय क्षति भएको हो ।

कान्जुरुहान रंगशालाको बाहिर निस्कने द्वार तर्फ हजारौँ दर्शक दौडिएका थिए । सो क्रममा किचिएर मानवीय क्षति भएको हो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले खेलको क्रममा भिड नियन्त्रणका लागि कुनै पनि प्रकारको ग्यास प्रहरी वा सम्बन्धित निकायले प्रयोग गर्न नपाउने जनाएको छ ।

एक प्रत्यक्षदर्शीले प्रहरीले लगातार तीव्र गतिमा अश्रु ग्यास प्रहार गरेको बताएको बिबिसीले उल्लेख गरेको छ । इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले शीर्ष लिगका सबै खेल घटनाको अनुसन्धान नहुँदासम्म बन्द गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया