

कार्यकाल सकेर स्वदेश फर्किए अमेरिकी राजदूत र्यान्डी बेरी

काठमाडौं – चारवर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन्। नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिश भएसँगै नेपालबाट बेरी स्वदेश फर्किएका हुन्।
नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्। उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।
उनले भनेका छन्‚ ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु।मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु।
यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु।’
बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन्। थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन्।

