

कर्णालीका ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

सुर्खेत (भेरीगङ्गा) – कर्णाली प्रदेशबाट यो वर्ष दशैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त सङ्ख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा ६० करोड रुपैयाँ भन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए ।
उनले भने, ‘स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।’
अहिले प्रदेशका चारवटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्यो, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाया मासुको लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए ।
निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो । दशैंतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ ।
विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ ।
खसीको मासुमा कर्णाली आत्मनिर्भर
कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ । विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ ।

