

दुई चरणमा कुन–कुन प्रदेशमा हुँदैछ मध्यावधि चुनाव, प्रधानमन्त्री ओलीले खुलाए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बललाई ‘ननभेज’ आन्दोलनको सामना गर्नका लागि तयार रहन निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बलको २० औं बार्षिकोत्सवलाई शुक्रबार हलचोकमा सम्बोधन गर्दै निर्वाचन तोकिएको मितिमा हुने र त्यसलाई हुन नदिनका लागि ननभेज आन्दोलन गर्नेसम्मका कुरा आएकाले सामनाका लागि तयार रहनुपर्ने बताएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चर्काे आन्दोलन गर्नुपर्ने बताउने क्रममा अब शाकाहारी आन्दोलनले नहुने बताएका थिए। त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने,‘यस भनाईमा रफ्फु लगाउने काम आज हुन सक्ला तर यो भित्री मनसाय हो, त्यसको सामना गर्न सक्नुपर्छ।’
यसै क्रममा प्रधानमन्त्री ओलीले १७ र २७ वैशाखमा हुने मध्यावधि चुनाव कुन कुन प्रदेशमा गरिने भन्ने पनि खुलाएका छन्। उनले भने,‘पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुनेछ। दोस्रो चरणमा प्रदेश १, बागमती र कर्णाली प्रदेशमा हुने मैले सोच बनाएको छु। यसबारे निर्णय हुनेछ।’
कोभिड उपचार र रोकथाम तथा सीमा सुरक्षालगायतका क्षेत्रमा सशस्त्र प्रहरीले गरेको कामको प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरेका छन्।

