बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस


हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको थिए ।

शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा दाहाल–नेपाल समूहमा रहेका ४५ जना सांसदहरूको हस्ताक्षरसहित सांसद अरुण नेपालले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए ।

उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । ‘अबको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्नेछ,’ सभामुख श्रेष्ठले भने ।

प्रतिक्रिया