पदमुक्त ट्रम्पको वार्षिक पेन्सन र सम्पत्ति कति ?


काठमाडौं – जो बाइडेनले बुधबार राष्ट्रपतिको शपथग्रहण लिएपछि पदमुक्त भएका डोनाल्ड ट्रम्पले अब अन्य पूर्वराष्ट्रपतिहरु जसरी नै वार्षिक पेन्सनलगायत आजीवन विभिन्न सेवा सुविधाहरु प्राप्त गर्नेछन् । उनले पाउने त्यही वार्षिक पेन्सनको अहिले अधिक चर्चा भइरहेको छ ।

अब ट्रम्पले हरेक वर्ष दुई लाख २१ हजार ४०० अमेरिकी डलर व्यक्तिगत खर्चका लागि पाउनेछन् भने त्यसका साथै भ्रमण भत्ता, अफिसका लागि ठाउँलगायत सम्पूर्ण व्यवस्था, स्टाफको तलब गरी कुल १० लाख डलरभन्दा धेरै प्राप्त गर्न सक्छन् । तर, ट्रम्पका लागि यी सबै सेवा प्राप्त गर्न अन्य पूर्वराष्ट्रपतिजस्तो सजिलो नहुने देखिएको छ । किनकि, आगामी बुधबार उनीमाथिको महाअभियोगसम्बन्धी हुने सिनेट ‘ट्रायल’मा उनी दोषी ठहर भएमा ट्रम्पले सबै गुमाउनुपर्ने हुन सक्छ ।

कानुनले महाअभियोगको प्रक्रियाबाट पदमुक्त राष्ट्रपतिलाई पेन्सनको सेवा प्रदान गर्दैन । तर, आगामी सिनेट ट्रायलमा उनी दोषी साबित भए पनि पेन्सनलगायत अन्य सेवाहरुका लागि अयोग्य ठहर हुन थप दोस्रो मतदान गर्नुपर्ने हुन्छ, जसले उनलाई पूर्वराष्ट्रपतिको कार्यालयबाट पनि हटाइदिनेछ ।

करदाता युनियन फाउन्डेसनले सन् २००० देखि गरेको विश्लेषणका अनुसार हाल अमेरिकाका चार जीवित पूर्वराष्ट्रपतिहरुलाई प्रदान गरिएका भत्ता, पेन्सन र सेवाहरुमा मात्र पाँच करोड ६० लाख डलर खर्च भइसकेको छ । नेसनल ट्याक्सपेयर्स युनिअनका रिसर्च डिरेक्टर डेमिअन ब्राडीका अनुसार पूर्वराष्ट्रपतिका लागि सबैभन्दा बढी लागत तिनको अफिस व्यवस्थापनमा हुने गर्दछ, जसका लागि कुनै रकम सीमा तोकिएको छैन ।

बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा प्रत्येकले गत वर्ष अफिसको भाडाका लागि मात्र पाँच लाख डलरभन्दा बढी प्राप्त गरेको ब्राडी बताउँछन् । यता, जिमी कार्टरको अफिस रेन्टचाहिँ त्यसको केही हिस्सा एक लाख १८ हजार डलर रहेको थियो । यसमा ट्रम्पका व्यवसायले उनी कार्यालयमा हुँदैखेरि भवनलगायत व्यवस्थापनमा १० लाख डलर बढी खर्च गर्दै आएका थिए ।

त्यसैगरी, अन्य पूर्वराष्ट्रपतिहरुले प्राप्त गरेको तर ट्रम्पले नपाउने एक मात्र सेवा भनेको स्वास्थ्य बिमा रहेको छ । यसका लागि राष्ट्रपतिले फेडेरल अफिसमा कम्तीमा पनि पाँच वर्ष काम गरेको हुनुपर्छ, जसकारण नै कार्टर र ट्रम्प यसका लागि योग्य नभएका हुन् ।

ट्रम्पको सम्पत्ति
वास्तवमा ट्रम्पका लागि पेन्सन त्यति जरुरी नभएको पनि देखिएको छ । उनले राष्ट्रपतिको कार्यभार सम्हाल्दै गर्दा आफ्नो पारिश्रमिकबिना नै गुजारा चलाएका थिए । ट्रम्प र ह्वाइटहाउसले यससम्बन्धी धेरैपटक घोषणा गरिसकेको छ कि उनले आफ्नो वार्षिक चार लाख डलरको पारिश्रमिक विभिन्न सरकारी विभागहरुमा दान गर्ने गरेका छन् ।

राष्ट्रपतिलाई पेन्सन दिइने कानुन १९५८ मा पारित भएको थियो । जसबेलाका जीवित पूर्वराष्ट्रपति हेरी ट्रयुमनले विभिन्न आर्थिक समस्याको सामना गर्नुपरेको थियो । तर, सो पेन्सन घटाउनका लागि पनि वर्षौँदेखि विभिन्न अपिलहरु भइरहेका छन् । किनकि, अहिलेका प्रायः पूर्वराष्ट्रपतिहरुले किताब अनि लेक्चरमार्फत उल्लेख्य कमाइ गरिरहेका हुन्छन् ।

ब्राडी भन्छन्, “यो कानुन वास्तवमा एकदम कठिन समयबाट गुज्रिरहेकालाई भनेर प्रयोगमा ल्याइएको थियो । तर, अहिलेको आधुनिक युगमा पूर्वराष्ट्रपतिहरुसँग अरु नै माध्यमबाट अधिक कमाइ गर्ने सम्भाव्यता हुन्छ । जसकारण सरकारबाट प्राप्त त्यस किसिमका सेवा र पेन्सनले उनीहरुलाई आवश्यकत भन्दा बढी दिएर ‘मिलेनायर’ बन्न मात्र सघाइरहेको छ ।”

ब्राडीको तर्क अनुसार हरेक वर्ष त्यस किसिमका भत्ता र सेवामा ४० लाख डलर खर्च भइरहँदा फेडेरल बजेटअन्तर्गत् सो पैसा बचाउन सकिन्छ । उनले थप भने, “यसमा हामीले अनावश्यक खर्च कम गराउन कुनै पनि मौका छाड्नु हुँदैनजस्तो मलाई लाग्छ ।”

एजेन्सी

प्रतिक्रिया