


प्रचण्ड आज चितवनमा नयाँ घरमा सर्दै

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चितवनमा छन् । चुनावी प्रचार र पार्टी कामका लागि उनी चितवन पुगेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तालाई रिझाउन चितवन पुगेका प्रचण्डले त्यहा विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको छ । उनले जिल्लामा असन्तुष्ट रहेका नेताहरुलाई अन्य पार्टीमा जानबाट रोक्ने रणनीति बनाएका छन् ।
यसैबीत आज प्रचण्ड भरतपुर महानगरको १४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्दैछन् । यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् ।
शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन् । उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ । प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका हुन् ।
प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनासाथ चितवन पुगेका हुन् । यसबीचमा काठमाडौं फकर्नुपरे पनि उनी एक्ले फर्कने तयारीमा रहेका स्रोतले जनायो ।

