


आजदेखि खुल्यो सवारी साधनको ‘रुट परमिट’

काठमाडौं- दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते)सम्मका लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनेर यो व्यवस्था गरिएको हो ।
यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । दसैँका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो संख्या २० लाख पुग्नसक्ने बताए ।
दसैँमा काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आआफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासङ्घले जनाएको छ । सिटौलाले भने, “यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ ।”
यस अवधिमा अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन चल्न पाउने छैनन् । विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म अठार र बीस चक्के सवारीसाधान सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो संख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने उनले बताए ।
दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभी इक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोधसमेत गरेको छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिराका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ ।

