राष्ट्रपतिबाट नै संवैधानिक संकट निम्त्याउने काम भयो : शेखर कोइराला


काठमाडौँ- नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले मुलुकलाई संवैधानिक संकटतर्फ डोर्‍याउने काम राष्ट्रपतिबाट भएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भइसकेको नागरिकता विधेयकलाई रोकेर मुलुकलाई थप संवैधानिक संकटतर्फ लगेको उनले बताए।

‘नागरिकता जस्तो संवेदनशील विषयमा समाज विभाजित हुने गरि राष्ट्रप्रमुखबाट भूमिका निर्वाह हुनु आफैँमा दुखद हो,’ उनले भने, ‘हामीले नागरिकताको संवेदनशीलताको विषय बुझाउन नै सकेनौँ कि झै लागि रहेको छ।’

यद्यपि राष्ट्रपतिलाई विधेयकलाई प्रमाणीकरण नगर्ने छुट थिएन। राष्ट्रपतिले कसको उक्साहटमा लागेर यस्तो निर्णय लिनु भएको हो भन्दै उनले भने, ‘राष्ट्रपतिको यो कदमले मुलुकलाई थप संकटतर्फ धकेलेको छ। मुलुकमा एकपछि अर्को जटिलताहरू देखिन थाल्ने छ। यो राम्रो संकेत होइन।’

यही विधेयक एमालेले ल्याउँदा राष्ट्रपतिलाई ठिक लाग्ने र अहिले बेठिक लाग्ने अनि संसद्को धज्जि उडाउँदै संविधानको पालनाबाट बाहिर निस्कन राष्ट्रपतिले नमिल्ने भन्दै उनले भने,‘यो राष्ट्रियताको विषय हो। यसलाई चुनावी मुद्दा बनाउने हिसाबले राजनीतिक विषय बनाइनु हुँदैन भन्दै आएको थिएँ। अहिले राष्ट्रपति जीले त्यही गरिदिनुभयो। लाखौँ नेपाली युवाहरू नागरिकताविहीन रहेको जानकारी रहँदा रहँदै बुझेर पनि निर्णय नगर्नु दुखद हो। तराईमा मात्र होइन पहाडी क्षेत्रका समेत नागरिकताको समस्या छ। ’

 

प्रतिक्रिया