

माओवादी पदाधिकारी बैठक सर्यो, अझै लागेन समानुपातिकका लागि टुंगो

काठमाडौं — समानुपातिक सूची तयार गर्नका लागि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।
गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए ।
समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।

