
सरकारले फेर्यो गृहसचिव
काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको व्यापक सरुवालाई तीव्र पारेको छ।
यसअघि खरिदारदेखि सहसचिवसम्मका कर्मचारीको व्यापक सरुवा गरेको सरकारले सोमबार केही महत्वपूर्ण मन्त्रालयका केही सचिवहरु पनि सरुवा गरेको छ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सुरक्षाको मुख्य जिम्मा सम्हाल्ने गृहमन्त्रालयका सचिवको सरुवा प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पुगेको हो।
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा सचिव टेकनारायण पाण्डेको सरुवा गर्न लागिएको हो। गृहमन्त्रीले सचिव पाण्डेलाई सरुवा गर्ने प्रस्ताव मुख्यसचिव शंकरदास वैरागीको टेबुलमा पुगेको छ।
निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भएसँगै मन्त्री खाँणले पाण्डेको ठाउँमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याउने प्रस्ताव गरेका छन्।
खाँणको उक्त प्रस्तावले मंगलबार औपचारिकता पाउने छ। सोमबारकै मन्त्रिपरिषद्को निर्णय भनेर गृहसचिव हेरफेर गर्न लागिएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहसँगै अन्य केही मन्त्रालय र अख्तियारसहितका संवैधानिक आयोगका सचिव पनि हेरफेर निर्णय गरेको बताइएको छ।
सोमबार गरिएको सुरुवाको निर्णयलाई मंगलबार परिपक्व बनाएर सबै सचिवलाई पत्र थमाउने तयारी मन्त्रिपरिषद्को कार्यालयले गरेको छ।
आचारसंहिता लागू गर्ने तयारीसँगै डेढ सातायता करिब एक हजार कर्मचारी र तीन हजार प्रहरीको सरुवा गरिसकेको छ।



कागजपत्र |
