
देशभर मौसम बदली हुने, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा
काठमाडौं- देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।
यसैबीच, गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै स्थानमा भारी वर्षा भएको छ। चेपे नदी, दरौँदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।



कागजपत्र |
