चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने, विभिन्न रुटमा सवारी आवत-जावत ठप्प


काठमाडौँ- नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन्।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन्।

यसअघि हिजो उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए। वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।

यसैबीच, लीको सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ। जसका कारण उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो। ली आवतजावत गर्ने रुट पूर्णरुपमा खाली गराइएका कारण अन्य क्षेत्रमा पनि प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ। सोमबार काठमाडौंमा करिब तीनघण्टा सवारी साधन समयमा गन्तव्यमा पुग्न पाएनन्।

प्रहरीका अनुसार आज पनि काठमाडौं उपत्यकाका प्रमुख मार्गको ट्राफिक सोमबारको जस्तै हुन सक्नेछ। मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया