
बागलुङको रामतोला बस्ती पहिरोको जोखिममा, सात दिनदेखि घर बाहिर स्थानिय
बागलुङ – बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्ती पहिरोको जोखिममा परेको छ। पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन्।
घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ। केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन्।
डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन्। जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गरेका छन्। टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुख थिए।
एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए। पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन्।
पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युतका पोल पनि बगाएको छ। ‘पानीका दुईवटा ट्यांकी नै बगेकाले खानेपानीको हाहाकार छ’, स्थानीय ढालनाथ शर्माले भने, ‘हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने?’
पहिराले दुईवटा खानेपानीका ट्यांकी बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो। बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन्। यहाँका विद्युतका दर्जनौँ पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ। तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताइन्।
रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो। पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन्। केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन्।
दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्यांकीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन्। अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन्। सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ। निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ।
पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ। नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताए। प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राखे। यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको उनले बताए।
निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन। पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ। ‘पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला’, इन्जिनियर त्रिलोचन गिरीले भने, ‘यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ।’ पानी परेमा पहिरो झनै बढ्न सक्ने उनको भनाइ छ।
उनले पहिरो विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने बताए। ‘सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ।, उहाँहरू अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ’ उनले भने, ‘पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ।’



कागजपत्र |
