

लाकुरीबोटको जलकन्यादेवी माविले १०+२ संचालन गर्ने

काठमाडौँ- गोरखा बारपाक सुलिकोट ५ लाकुरीबोटको जलकन्यादेबी माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्र २०८० बाट दस जोड दुई कक्षा संचालन गर्ने भएको छ। काठमाडौँमा आयोजित एक भेलाबाट +२ संचालनको लागि पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समितीसमेत निर्माण गरिएको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाको अध्यक्षतामा भएको भेलाले समिती निर्माण गरेसँगै तयारीमा लाग्ने निर्णय गरेको छ।
भेलालाई सम्बोधन गर्दै दोलखबहादुर गुरुङले +२ कक्षा संचालन अपरिहार्य आवश्यकता रहेको औल्याउँदै सबैलाई सहयोग गर्न अनुरोध गरे।
विद्यालयको बिगतदेखि वर्तमानसम्मको अवस्था औल्याउँदै त्यहिको बालबालिकाको लागि गुणस्तरीय शिक्षासहितको +२ कक्षा संचालनमा उनको जोड थियो। सबैको साथ र सहयोग रहे +२ संचालन गर्न गाह्राे नभएको भन्दै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले विद्यालयको भौतिक पूर्वाधार शैक्षिक अवस्थाबारे जानकारी दिँदै +२संचालनको निमित्त २८ वटा पक्की कक्षा कोठा, लाईब्रेरी, कम्प्युटर ल्याब, खेलकुद मैदान लगाएत सबै पुर्वाधार र सुबिधाको हिसाबले सक्षम रहेको बताए।
विद्यालयका पूर्वप्रधानाध्यापक टीकादेवी गुरुङले विगतको इतिहासबाट पाठ सिकेर अघि बढे सजिलै +२ संचालन गर्न सकिने बताए। उनले बिगतमा भौतिक आर्थिक हरेक कुराको अभावमा पनि आम अविभावकको साथ र सहयोगले नि.मा.वि. र मा.वि संचालन गर्न सफल भएको भन्दै ११ र १२ कक्षा पनि संचालन गर्न सकिने बताए।
भेलामा समृद्ध ताकु युवा समाजका राजु खड्का, राजन लामिछाने, राजेन्द्र रायमाझी, शिक्षा सेवी बासुदेव भट्ट, ज्ञानेन्द्र भट्ट, मेघविलास भट्ट, विजय खडका, देवेन्द्र पोख्रेललगायतले विद्यालयमा प्लस टू सञ्चालनका विषयमा धारणा राखेका थिए। उनीहरूले +२ संचालन ठूलो कुरो नभएको भन्दै दीर्घकालीन संचालन मुख्य चुनौती भएको बताए।
यस अघि विद्यालयमा भएको सर्वपक्षीय भेलाले दश जोड दुई कक्षा संचालन गर्ने निर्णय गरेको थियो। विद्यालयले व्यवस्थापन तथा कम्युटर विषय अध्यापन गराउने जनाएको छ। १०+२ को लागि विद्यालयले ५० लाखको अक्षय कोष निर्माण गर्ने लक्ष्य राखेको छ ।
सो को लागि दोलखबहादुर गुरुङ र टीकादेवी गुरुङ बाट रु २ लाख ५० हजार, बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट बाट १ लाख, पूर्व वडा अध्यक्ष गोपाल बहादुर गुरुङबाट ५० हजार, पदमबहादुर थापा कुमालटारीबाट ५० हजार र विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले ५० हजार दिएको विद्यालयले जनाएको छ ।
विस.२००९ सालमा स्थापित सो विद्यालयले २०५१ सालबाट एस.एल.सी. दिएको थियो। यस वर्षको एसईईमा बारपाक सुलिकोटमै प्रथम भएको विद्यालयले जनाएको छ।

