


तनहुँमा चितुवाको आक्रमणबाट आमाछोरा घाइते

तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका-११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उनको ९ वर्षीय छोरा शङ्कर गुरुङ घाइते भएका हुन् ।
सब डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोइराला आइतबार राति साढे १२ बजे घरको पिंढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताए ।
चितुवाको आक्रमणबाट घाइते भएका आमा दिलमाया र छोरा शङ्करको दमौली अस्पतालमा उपचार भइरहेको प्रमुख कोइरालाले जानकारी दिए । घाइते आमाछोरा स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिए ।
हाल तनहुँमा नरभक्षी चितुवाले निरन्तर आक्रमण गरिरहेको छ । बन्दीपुर गाउँपालिका-१ मा दुई महिनाको अवधिमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् भने एक बालकको मृत्यु भइसकेको छ।

