अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा लगाए कारबाही हुन्छ : मेयर साह


काठमाडौं – काठमाडाैं महानगरका मेयर बालेन्द्र साहले पार्किङकाे नक्सा पास भएका तर अन्य रूपमा प्रयाेग भएका संरचनाहरूकाे अनुगमन, खाेजी र कारबाही सुरु भएकाे बताएका छन् ।

गत साउन २ गते महानगरले बानेश्वरका ठूला भवनमा ३५ दिनभित्र  अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिँदै पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना  दिएको थियो ।  सूचना दिएको ३५ दिनपछि अर्थात् आज  महानगर प्रमुख  शाह आफैँ अन्डरग्राउन्ड खाली भए-नभएको अवलोकन गर्न पुगे ।

निर्वाचित भएपछि प्रायः फुटपाथ हटाउने विषयमा बानेश्वर धाइरहेका प्रमुख शाह आज पनि बानेश्वर पुग्दा धेरैले फुटपाथ व्यापार अवलोकन गर्न आएको अनुमान पनि लगाए । यद्यपि आज भने बालेन अन्डरग्राउन्ड पार्किङ अवलोकन गर्न पुगेका थिए ।

तर, व्यवसायीहरूले महानगरको सूचनालाई बेवास्ता गरी व्यवसाय सञ्चालन गरिरहेका थिए । आज करिब साढे ११ बजे बालेन बानेश्वर पुगेका थिए । बानेश्वरको संसद् भवनको पश्चिम गेट अगाडिको भवनबाट उनले अवलोकन सुरु गरे ।

शाह अन्डरग्राउन्ड व्यवसाय भएको हरेक भवनमा छिरे । कपडा पसल, मोबाइल पसल, होटल, औषधि पसललगायतका व्यवसायहरू अन्डरग्राउन्डमा सञ्चालन भइरहेका छन् । व्यवसायीहरूलाई अन्डरग्राउन्ड खाली गर्नुपर्ने जानकारी भए पनि बेवास्ता गरेको प्रस्टिन्छ । किनकि यसभन्दा अघि कहिल्यै सूचना नआएको र अब पनि महानगर चुप नै रहला भन्ने अनुमान गरेको व्यवसायीहरू पनि स्वीकार्छन् ।

शाहले अवलोकनमा पुगेकै समय नै एक घरधनी गुनासो गर्दै थिए । उनले अन्डरग्राउन्डमा कपडा पसल व्यवसायीलाई बहालमा दिएका छन् । उनका अनुसार आफूले सवारीसाधन पार्किङ गर्न नक्सा पास नगरेकाले पार्किङ गर्न ठाउँ नदिएकाे गुनासो गर्दै थिए । तर, अन्डरग्राउन्डमा सवारीसाधन पार्किङ नगरी नक्सापास गर्न नपाइने नियम नै छ। त्यसैले काठमाडौं महानगरपालिकाले आजै अन्डरग्राउन्ड पार्किङका पसल हटाउन सुरू गरेको छ ।

प्रतिक्रिया