पाँचवटा ‘ए’ डिभिजन क्लबलाई काठमाडाैं महानगरकाे सहयाेग


काठमाडौं – काठमाडौं महनगरपालिकाले काठमाडौंका ‘ए’ डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ। पछिल्लो दुई वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ‘ए’ डिभिजन क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ। जसलाई निरन्तरता दिँदै काठमाडौंका पाँच क्लबलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

महानगरले संकटा क्लब, मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, न्युरोड टिम एनआरटी र मच्छिन्द्र क्लबलाई रकम हस्तान्तरण गरेको हो। अघिल्लो सिजनमा काठमाडौंमा रहेका ६ क्लबलाई महानगरपालिकाले रकम दिएको थियो। तर सरस्वती क्लब ‘बी’ डिभिजनमा झरेपछि यो पटक पाँच क्लवले सो रकम पाएका हुन्।

कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्न महानगरले सहयोग गरेको बताए। त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरुको खर्च बढ्दै गएको र लिग महँगो हुँदै गएको अवस्थामा महानगरको योगदानले क्लबहरुलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपालको फिफा बरियतामा सुधार हुँदै गएको भन्दै आगामी दिनमा यसलाई सुधार गर्न प्रयास गर्ने धारणा राखे। महानगरले चाँडै ‘बीँ र ‘सी’ डिभिजनका क्लबलाई पनि सहयोग गर्ने भएको छ। अहिले यसका लागि कागजी प्रक्रिया अगाडी बढाइएको महानगरले जनाएको छ। जसमा बी डिभिजनका क्लवलाई पाँच लाख र सी डिभिजनकालाई दुई लाख रुपैयाँ दिने महानगरले जनाएको छ।

प्रतिक्रिया