राजधानीमा फैलियो भाइरल ज्वरो र डेंगु

पाटन अस्पतालमा बिरामीको चापले भुइँमै राखेर उपचार


ललितपुर – लाखौं मानिसको ज्यान लिएको र करोडौंलाई संक्रमित बनाएको कोरोना महामारीको चौथो लहरको चर्चा चलिरहँदा राजधानीमा अर्को नयाँ रोगले महामारीको रुप लिन लागेको देखिएको छ ।

उपत्यकाको ललितपुर जिल्लामा पछिल्ला दिनहरुमा भाइरल ज्वरो र डुेंगुका बिरामी बढ्न थालेका छन् । ललितपुरका ग्रामीणदेखि सहरी वस्तीहरुमा ज्वरो र डेंगुका बिरामी एक्कासी बढ्दै गइरहेको छ ।

ज्वरो र डेंगुका बिरामी बढेसँगै ललितपुरको पाटन अस्पतालमा इमर्जेन्सीमा स्थान अभाव देखिएको छ । स्थान अभावका कारण इमर्जेन्सीमा कुर्सी र भुइँमा राखेर उपचार भईरहेको ललितपुरका सांसद नवराज सिलवालले बताए ।

पाटन अस्पतालमा अहिले बिरामीको चापले गर्दा नयाँ बिरामी भर्ना गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका ५१० बेड भरिएको पनि सिलवालले जनाएका छन् । आइतबार साँझ अस्पताल पुगेका सिलवालले अस्पताल प्रशासनसँग बिरामीहरुको उचित उपचारकाे प्रबन्ध मिलाउन  आग्रहसमेत गरेका थिए ।

डेंगु लामखुट्टेले टोकेर लाग्ने रोग भएका कारणले साँझ ५ देखि ७ बजेसम्म लामखुट्टेको टोकाईबाट बच्न पनि सिलवालले अनुरोध गरेका छन् । अस्तव्यस्त फोहोरका कारणनै विभिन्न रोगहरू देखिन थालेको पनि उनले बताए ।

राजधानीमा पछिल्लो केहीमहिना यतादेखि फोहोर व्यवस्थापन नहुँदा विभिन्न प्रकारका महामारी लाग्ने लक्षण देखिएको छ । फोहोरकै कारण हैजाका बिरामीहरु देखिइरहेको राजधानीमा अहिले फेरि नयाँ रोग देखा परेको छ ।

राजधानीका सडकमा रहेका फोहोरका कारण विभिन्न किसिमका जीवाणुहरु फैलिएसँगै विभिन्न महामारीहरु देखा पर्न थालेका छन् । पछिल्ला केही दिनदेखि फोहोरको व्यवस्थापनको काम सुरु भएकोले केही दिनसम्म महामारीबाट बच्नु पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

प्रतिक्रिया