

१५ दिने चुनावी अभियान ‘जनताको साथमा कांग्रेस’ लिएर गाउँ जाँदै कांग्रेस

काठमाडाैं – आगामी ४ मंसिरको चुनावलाई केन्द्रमा राखेर सत्तारुढ दल नेपाली कांग्रेसले पहिलो चरणमा १५ दिने अभियान गर्दै छ । यही भदौ १० देखि २४ सम्म ‘जनताको साथमा कांग्रेस’ नाममा अभियान सञ्चालन गरिने प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले यो अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइने उल्लेख गर्दै ती प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सहभागितामा आइतबार अभिमुखीकरण गरिने जानकारी दिए ।
उनले यो अभियानका क्रममा मुख्य गरी सरकारले गरेका कामबारे आम जनतालाई जानकारी दिने र गठबन्धनको औचित्य पुष्टि गर्ने विषयमा केन्द्रित हुने बताए । उनले दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्तापछि सुरु हुने जानकारी दिए ।
पहिलो चरणको अभियानमा केन्द्रीय प्रतिनिधिले जिल्लामा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । जिल्ला कार्यसमितिले गाउँगाउँमा प्रतिनिधि खटाउने छ । यसबाट कांग्रेस र सरकारप्रति आम जनताको बुझाइबारे पार्टीमा रिपोर्टिङ हुनेछ । त्यसका आधारमा दोस्रो चरणमा रणनीति बनाइ कांग्रेसले जनाएको छ ।

