

बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ : मन्त्री कार्की

इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर–घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर घर–घरमा रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित भएको बताए ।
देशमै रोजगारी नहुँदा युवाहरूले खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्नका लागि वर्तमान सरकार विभिन्न किसिमको कार्य गरिरहेको दाबी गरे । स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवाले जोखिमुक्त कामका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्नका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाए ।
नेपाली युवालाई उच्च तापक्रममा श्रम बेच्नुपर्ने बाध्यता रहेको बताउँदै उनले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मुलुकलाई विकसित तुल्याउनका लागि सबै मिलेर देशबाट बेरोजगार र गरिबीलाई अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताए । उनले अहिले मुलुक बेरोजगार र गरिबीको चपेटामा परेका कारणले त्यसलाई १० वर्षभित्रमा अन्त्य गरेर दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्न सरकारले चाहेको जानकारी दिए ।
बेरोजगारीको चपेटामा परेकाले भाषणमा मात्र नभई व्यवहारमा त्यसलाई अन्त्य गर्नका लागि चाहेको उल्लेख गर्दै समृद्ध देश निर्माणका लागि जुट्न सबैलाई अपिल गरे । सोही अवसरमा मन्त्री कार्कीले सुनसरी क्षेत्र नं ४ को विभिन्न स्थानमा नेटवर्कको समस्या हुँदै आएको त्यसलाई समाधान गर्नका लागि नेटवर्क विस्तारको कार्य गर्नुहुँदै त्यसको एक कार्यक्रमको बीच उद्घाटन गरेका छन् ।
मन्त्री कार्कीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । केही दिन अगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराह क्षेत्र नगरपालिका–६ र ८ का जनताले बाढीबाट प्रभावित जनताको अवस्था बुझ्न उहाँले त्यस क्षेत्रको निरीक्षण गरेका हुन् ।
प्रभावित जनताको अवस्था बुझ्दै त्यस क्षेत्रलाई मन्त्रिपरिषद्को बैठकले सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गरिसकेकाले उनले आवश्यक राहतका लागि कार्य उपलब्ध गराउन सुरु गरिएको बताए । मन्त्री कार्कीले त्यस क्षेत्रको पीडितहरूको अवस्था अहिलेसम्म भएको राहतको कार्य, उद्धार, क्षतिको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकालसहितको सरोकारवालासँग जानकारी लिए ।

