


विशेष चेकिङः १ सय १८ जना विद्यार्थी ट्राफिक कारबाहीमा

काठमाडौं – काठमाडौंमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले सवारी चालक अनुमतिपत्रबिनै सवारी चलाएको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको सवारी चालकलाई लक्षित अभियानका क्रममा १ सय १८ जना कलेजका विद्यार्थी कारबाहीमा परेका हुन्।
चेकजाँचमा सवारी चालक अनुमति पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार सातजना विधार्थी कारबाहीमा परेका छन्। यस्तै हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विद्यार्थी कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्ने विद्यार्थीमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याकंअनुसार काठमाडौं उपत्यकाभित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन्। जसमध्ये ८ हजार ३ सय ६४ वटा दुई पांग्रे सवारी साधन रहेका छन्।
सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारीमा मात्रै १ सय १७ को मृत्यु भएको छ। जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश दुई पांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन्।
उमेर समूहका आधारमा १७ देखि ३५ वर्षसम्मका दुईपाग्रें सवारी साधन प्रयोगकर्ता रहेका छन्। सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्यूनीकरण गर्नका लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको छ।

