

नेपालमा राजासहितको हिन्दू राष्ट्र चाहने कालीबाबा र पूर्वराजा शाहबीच दुई घण्टा छलफल, के भयो कुराकानी?

काठमाडौँ– नेपाली मूलका भारतीय काली बाबा अहिले नेपालमा छन्। बुधबारमात्रै नेपाल आइपुगेका उनी काठमाडौँको गौशालास्थित धर्मशालामा बसे। नेपालमा राजासहितको हिन्दू राष्ट्र चाहने काली बाबाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। राजाकै निवासमा भएको भेटमा काली बाबासँगै भारतीय जनता पार्टी (भाजपा)का केही नेता पनि पुगेका थिए।
काली बाबा र पूर्वराजाको भेट भएको पूर्वराजाका निजी सचिव डा.फणि पाठकले पुष्टि पनि गरे।
केही समय चर्चाबाहिर रहेका पूर्वराजासँग काली बाबाको भेटलाई अर्थपूर्ण तबरले हेरिएको छ। काली बाबाको भारतको राजधानी नयाँदिल्लीस्थित पहाडगन्जमा आश्रम छ। उनी योगी आदित्यनाथसँग निकट पनि मानिन्छन्।
उनीहरुबीच नेपालको वर्तमान राजनीतिक अवस्था, राजासहितको हिन्दू राष्ट्रलाई जनताले के कसरी लिन्छन् लगायतको विषयमा कुराकानी भएको बुझिएको छ।
कालीबाबा यसअघि पनि पटक–पटक नेपाल आएर हिन्दू राष्ट्रमा वकालतसमेत गर्ने गर्छन्। २०७२ साल साउन २८ मा उनी पशुपतिनाथको दर्शन गर्न भन्दै नेपाल आउँदा नेपाललाई हिन्दू राष्ट्र बनाउन कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएर विवादित पनि बनेका थिए।
हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायतका विषयमा बेलाबखतमा अभिव्यक्ति दिँदै र विभिन्न याज्ञिक अनुष्ठानसमेत गरिरहने कालीबाबा नेपाललाई हिन्दू राष्ट्र भएको दाबी पनि गर्छन्। उनले हिन्दूधर्मको विरोध गर्ने, हिन्दूराष्ट्र हटाउन खोज्ने आफैँ गिर्दै गएको आरोप पनि लगाउँछन्। यस्ता अभिव्यक्ति दिइरहने कालीबाबा र पूर्वराजा शाहबीचको यसपटकको भेटलाई निकै अर्थपूर्ण मान्न सकिन्छ।

