

जंगली च्याउ खाँदा बिरामी परेका ४ मध्ये १ बालिकाको मृत्यु

सल्यान – जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये १ बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्तकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको हो ।
बिहीबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्तमा केशर ओलीको श्रीमती ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पबित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए ।
जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा शनिबार विहान रिफर गरिएको थियो ।बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी गराए ।
उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकली, २३ वर्षीय छोरा प्रकाश, बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका ४ साइलाकम्तका ४ गरी ८ जना थिए । जसमध्ये ७ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
जिल्ला अस्पताल सल्यानका ईन्चार्ज तथा एमडीजीपी डा. अभिषेक सिंहले जंगली च्याउ खाएर बिरामी परेकामध्ये २ जनाको अवस्था गम्भीर भएको र तिनीहरुको डाइलसिस गर्नुपर्ने तथा आइसीयूमा भर्ना गर्नुपर्ने हुँदा जिल्ला अस्पतालमा सुविधा नभएकाले आफन्तको सल्लाहअनुसार सबैलाई रिफर गरिएको बताए ।
यो सातामा मात्र च्याउ खाएर १५/१६ जना बिरामी परेर अस्पतालमा भर्ना भएका र त्यसमध्ये केही निको भएर घर फर्किएका उनले जानकारी दिए । ८ जनालाई भने अन्य अस्पतालमा रिफर गरिएको छ । बिरामीमा पखाला, पेट दुख्ने, रक्तचापको कमीजस्ता लक्षण देखिएको थियो ।नगरपालिका सल्यानका मेयर प्रकाश भण्डारीले समेत सामाजिक सञ्जालमार्फत नगरवासीलाई सल्लाह दिएका छन् ।

